काठमाडौं। जुम्लामा बिजुली बत्ती मागसहित पञ्चैबाजाको लस्कर लिएर जुम्लाका नागरिक काठमाडौंस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय पुगेका हुन्। उनिहरु शान्ति वाटिकादेखि प्राधिकरणको कार्यालयमा बिजुली माग गर्दै गएका हुन्।
प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहितको जुम्लाको टोली बिजुली माग्न प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यालयमा पुगेका हुन्। मंगलबार शान्ति वाटिका, रत्नपार्क क्षेत्र हुँदै विद्युत् प्राधिकरणमा पञ्चैबाजा, प्लेकार्डसहित जुम्लाबासीले जुलुस निकालेका हुन्। जुम्लामा विद्युत् पुगे पनि व्यवस्थापन हुन नसकेको र गाउँ–गाउँमा पुर्याइनुपर्ने ध्यानाकर्षणसहित राज्यलाई यसपटक फरक तरिकाले ध्यानाकर्षण गराइएको सांसद महतले जानकारी दिएका छन्।
यसका लागि कर्णालीको पञ्चैबाजा ल्याएर शान्ति वाटिकादेखि विद्युत् प्राधिकरणको ढोकाअगाडि ध्यानाकर्षण गराइएको उनको भनाइ छ। सांसद महतले तयार पारेको ज्ञापनपत्र बुझाउन विद्युत् प्राधिकरण अगाडि बाजा बजाउँदै कार्यकारी निर्देशक घिसिङलाई प्रांगणमा बोलाइएको भएपनि एक घन्टासम्म तल नआएपछि ज्ञापनपत्र मूल गेटमा टाँसेर बाहिरिएको सांसद महतले जानकारी दिएका छन्।
यसैगरी जिल्लाका सम्पूर्ण बस्तीमा यथाशीघ्र विद्युत् प्रसारण लाइन विस्तार गरिनुपर्ने, विद्युत् प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडोभन्दा चाँडो आवश्यक सामग्री उपलब्ध हुनुपर्ने, जिल्लाभित्र जल प्रवाह भइरहेका नदी तथा खोलामा खेर गइरहेको पानी ऊर्जा प्रयोगमा ल्याउन सम्भावित आयोजना क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, जिल्लाभित्रका सम्भाव्यता अध्ययन भएका आयोजनाको विस्तृत परियोजना प्रातिवेदन तयार गर्ने, विस्तृत परियोजना तयार भएका योजनाको यथाशीघ्र निर्माण गर्ने, ३३ केभी प्रसारण लाइन विस्तार निर्माणमा भएको ढिलाइ अन्त्य गरी शीघ्र कार्य सम्पादन गर्नुपर्ने साथै ११ केभी लाइनमा भएको भोल्टेज उतारचढाव समस्या सामाधान गरि जुम्लामा भएको विद्युत् प्राधिकरण कार्यालयलाई स्रोत–साधनसम्पन्न बनाई व्यवस्थित गरिनुपर्ने प्राधिकरणसँग जुम्लाबासीको माग रहेको छ।