काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक एउटै कम्पनीलाई निर्माण कार्यको जिम्मेवारी नदिन आग्रह गरेको छ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाममा पत्र लेख्दै स्थानीय तहहरुले सडक निर्माण तथा मर्मतलगायतका कार्य गर्दा खण्डीकरण गरी एउटै आवमा पटक-पटक एउटै व्यक्ति/फर्म/कम्पनीलाई विना प्रतिष्पर्धा निर्माण कार्य गर्ने जिम्मेवारी र भुक्तानी दिने कार्यको अन्त्य गराउन अनुरोध गरेको हो।
आयोगले यस्तो परिपाटिको अन्त्यका लागि सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पुर्ण स्थानीय तहहरुलाई लेखि पठाउने भनी गत माघ २२ गते नै भएको निर्णयको कार्यान्वयन गर्न मन्त्रालयलाई माघ २९ गते पत्र पठाअनुरोध गरेको हो।
सडक निर्माण तथा मर्मतलगायतका कार्य गर्दा खण्डीकरण गरी एउटै आवमा पटक पटक एउटै व्यक्ति/फर्म/कम्पनीलाई विना प्रतिष्पर्धा निर्माण कार्य गर्ने जिम्मेवारी र भुक्तानी दिँदा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ लगायत प्रचलित कानुनको प्रतिकुल रही बदनियतपूर्ण कार्य हुने आयोगको ठहर छ।