काठमाडौं। इलामको सूर्योदय नगरपालिकाले अन्तुपोखरीमा डुंगा सञ्चालनमा ल्याएको छ। कोरोना महामारीले बन्द भएको डुंगा करिब दुई वर्षपछि मंगलबारदेखि सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। केही वर्ष अघिदेखि निजी क्षेत्रबाट पोखरीमा डुंगा सयर गराएर पर्यटकलाई मनोरञ्जन दिँदै आए पनि कोरोना महामारीमा बन्द भएको डुंगा नगरपालिका आफैंले सञ्चालनमा ल्याएको हो।
यसैगरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैंले डुंगा सञ्चालन गरेर आर्थिक स्रोत जुटाउन थालेको हो। नगरप्रमुख रणबहादुर राई, वडाध्यक्ष मदुसूदन लामिछानेसहितको टोलीले पोखरीमा डुंगा चढेर कार्यक्रम सुरु गरेका हुन्। डुंगा सञ्चालनमा ल्याइएपछि अन्तु घुम्न आउने पर्यटकले डुंगा चढेर अन्तु पोखरीको दृश्यावलोकन गर्न सक्ने जनाइएको छ। नगरले तीन वटा डुंगा सञ्चालन सुरु गरेको नगरप्रमुखले जानकारी दिएका छन्। अन्य पर्यटकीय स्थलसँगै अन्तुपोखरीमा डुंगा पनि थपेको उनले जनाएका छन्।
उनका अनुसार पर्यटन पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुंगा सञ्चालनमा ल्याउन करिब ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। एक पटक डुंगामा चढेर पोखरी फन्को मार्न ५० रुपैयाँ लाग्नेछ। यसैगरी डुंगा चढ्न १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको जनाइएको छ। डुंगा सञ्चालनले पर्यटकको आकर्षण बढाउने विश्वास गरिएको छ।
केही वर्षअघि निजी क्षेत्रले डुंगा सञ्चालन गर्दा सुरक्षा जोखिम देखिएको भन्दै नगरपालिकाले सञ्चालनको मापदण्ड बनाएको हो। सूर्योदय अवलोकन स्थल अन्तुडाँडाको पहिचान रहेको साथै सूर्योदय अवलोकन पछि अन्तुपोखरीमा डुंगाको आनन्द लिदैं चारैतिर चियाका बोट अवलोकन गर्दै पर्यटकले छुट्टै मनोरञ्जन लिन सक्ने जनाइएको छ।