बैतडी। बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ ।
करिब तीन दशकदेखि बन्द अवस्थामा रहेको विमानस्थल तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर पुनःनिर्माणको काम थालिएको हो ।
केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरिरहेको छ। विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिए ।
गोकुलेश्वरमा रहेको विमानस्थल पुनःसञ्चालनमा आए यहाँको पर्यटन विकासका साथै यातायात सेवा सहज हुने स्थानीयवासीको भनाइ छ। विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकलेसमेत सेवा पाउने छन् ।
विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मङ्सिर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।