काठमाण्डौं। दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवद्र्धनका लागि मिनि ग्रेटवाल निर्माण कार्य सुरु भएको छ। दोलखाको शैलुङ गाउँपालिका–९ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ् वेसक्याम्प मानिने कालापानीदेखि शैलुङडाँडासम्म मिनि ग्रेटवाल निर्माण गर्न सुरु गरिएको हो।
शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालका अनुसार महत्वपूर्ण पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङडाँडासम्म करिब ५०० मिटर लामो मिनि ग्रेटवालको निर्माण गर्न लागिएको हो।
उक्त मिनि ग्रेटवाल निर्माण गर्न पाँच करोड लागत व्यवस्था गरिएको छ। सो गत सोमबार गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शिलान्यस गरेकाछन।
दोलखा र रामेछापको सिमानामापर्ने शैलुङडाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ। हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङडाँडा समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा छ। गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ।
पर्यटनको प्रचुर सम्भावना बोकेको शैलुङ क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा रहेकामा पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रको रुपमा विकास हुँदै गएको छ।