फाइल तस्बिर
मुस्ताङ। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा एक पुल निर्माण भएको हो।
लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते २३ करोड ७९ लाखमा ठेक्का सम्झौता गरेको थियो । कालिका–गजुरमुखी जेभीले विसं २०७६ चैतमा सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि चार करोड ६८ लाख मा ठेक्का सम्झौता भएको थियो । पचास मिटर लम्बाइको किम्लिङखोला पुलको लागत ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोकखोला पुलको लागत छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत छ करोड ८५ लाख रहेको छ ।
गाउँमा पुल निर्माण भएसँगै खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्।