काठमाडौं। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता गरिने भएको छ ।
फागु पूर्णिमाको अवसर पारेर यही चैत ११ र १२ गते होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ, पोखरा महानगरपालिका र डा«गन बोट सङ्घ गण्डकीले बेगनासतालमा प्रतियोगिता गर्न लागेका हुन्। प्रतियोगितामा १२–१६ समूहले सहभागिता जनाउने आज बेगनास ताल किनारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ड्रागन बोट सङ्घ गण्डकीका अध्यक्ष दीपक सुवेदीले जानकारी दिए ।
बेगनास तालमा ड्रागन बोट दौड प्रतियोगितासँगै लेखनाथ क्षेत्रका सात सालमा पाइने माछाको प्रदर्शन, स्थानीय वेशभूषा तथा झाँकी प्रदर्शन, नेपाल–चीन सम्बन्ध झल्कने वस्तु एवं परिकार, पर्यटकीय स्थानको प्रचारप्रसार, मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम गरिने जानकारी होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले बताए ।