जुम्ला। रारा जाने पर्यटकीय मार्ग ‘नाग्म–गमगडी’ सडकअन्तर्गत विभिन्न खोलामा निर्माण हुने १० वटा पक्की पुलमध्ये चारवटा पुलको निर्माणकार्य अझै सुरु हुनसकेको छैन। सडक डिभिजन जुम्लाको पहल तथा पुल विभागको लगानीमा ठेक्का आह्वान भई निर्माण हुने भनिएका १० मध्ये चारवटा पुलको निर्माण कार्य अझै सुरु नभएको हो । ६ वटा पुलको निर्माणको भौतिक प्रगति न्यूनतम २५ देखि ५० प्रतिशतसम्म भए पनि चारवटा पुलको निर्माणकार्य नै सुरु भएको छैन।
नाग्म–गमगडी सडकको प्रवेशद्वारमै जग्गाको मुआब्जा विवादले भने पुल निर्माणअघि बढ्न नसकेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए । कालिकोट–हिमा गाउँपालिकाको सीमावर्ती क्षेत्र पातरखोलामा कालिकोटतर्फको जग्गा स्थानीयले नदिएपछि पुलको निर्माण रोकिएको छ । सडकको प्रवेशद्वार पातरखोलामा हिमा (जुम्ला) तर्फ पिल्लर निर्माण भइसकेको छ । तर कालिकोटतर्फको जग्गा नदिएपछि पुल निर्माण रोकिएको हो ।
मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहिलेबहादुर रावतको अडानले काम अघि बढ्न सकेन । उनले भने, ‘मुआब्जाको फाइल अघि बढाउने तयारी गरे पनि जग्गाधनीले मुआब्जा दिनै नसकिने गरी २०/२५ लाख माग गर्दा समस्या भएको छ । यसले गर्दा पुल निर्माणमा विलम्ब भएको छ ।’ पातरखोला पुलको एकतर्फी पिल्लर निर्माण भए पनि ‘लुम्सा खोला पुल, घट्टेखोला पुल, ज्यारीखोला पुल र गोठीज्युला खोला पुल’ गरी चारवटा पक्की पुलको निर्माण कार्य अझै सुरु हुन नसकेको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।
निर्माण कम्पनीले काम अघि नबढाउँदा चारवटा पुलको काम रोकिएको छ । ०७८ साल फागुन ९ गते ठेक्का सम्झौता भई आगामी ०८२ साल भदौ ८ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि चारवटा पुलको काम सुरु नहुनुले निर्धारित समयमा पुल निर्माण नहुने प्रश्न खडा भएको छ । सडक डिभिजन कार्यालयले भने निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरिरहेको छ। कारोबार दैनिकबाट