काठमाडौं। चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ ।
सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले उद्धारका लागि प्रयोग हुने हेलिकोप्टरबाट समेत सुन तस्करी हुने गरेको प्रतिवेदनमा उल्लेख गरेको हो । त्यसबारे आफूहरुलाई सुराकहरु प्राप्त भए पनि दिन र समय नै तोकेर भने विवरण प्राप्त नभएको आयोगका एक सदस्यले बताए ।
आयोगले केही विषयमा विस्तृत छानबिन गर्नुपर्ने देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेको उनले बताए । आयोगले प्रतिवेदनमा हेलिकोप्टरमार्फत समेत सुन तस्करी भएको सूचना प्राप्त भएको बताउँदै यसको नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने भनिएको छ ।