बाँके। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले विकास निर्माणका लागि आएको बजेट फ्रिज हुन नदिइ काम गर्न निर्देशन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको जिल्लाका कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री अथकले बजेट फ्रिज नगरी तीव्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
मन्त्री अथकले विकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा विकास निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछि काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले विकासको गति पछि धकेलिएको बताए।
उनले कुनैपनि कार्यालयलाई काम गर्न समस्या भएको खण्डमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए। मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुलाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दबाब सृजना गर्न लगाउनुपर्ने बताए ।
मन्त्रीले सिक्टा सिचाई आयोजना, हुलाकी सडक, बाँकेमा पुर्ण बिद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरुसँग जानकारी समेत लिएका छन्।