फाइल तस्बिर
काठमाडौं। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य पुनः शुरु भएको छ। स्थानीयवासीले गरेको अवरोध हटेपछि एक महिनादेखि अवरुद्ध रहेको सुरुङमार्गको निर्माण कार्य पुनः शुरु भएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा सोमवार मन्त्रालयमा भएको सहमतिपछि मंगलबारदेखि काम शुरु गरेको आयोजनाले जनाएको छ । आयोजनाले गएको फागुन २३ गते मुख्य सुरुङ छिचोल्ने साइत निकालेकोमा स्थानीयवासीले फागुन ६ गतेदेखि नै निर्माण कार्य रोकिदिएका थिए ।
चन्द्रागिरि नगरपालिका–२ का स्थानीयवासीले उठाउँदै आएको मुख्य माग खानेपानी, सिँचाइको व्यवस्था गरिदिने, आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारमा प्राथमिकता दिने लगायत विषयमा सहमति भएको छ ।