भगीरथ भण्डारी
इलाम। निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले एउटा कम्पनीले पाएको काम पूरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ इलामको २०औं साधारणसभा तथा ९औं जिल्ला अधिवेशनमा एउटा कम्पनीले पाएको काम पूरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने व्यवसायीहरुले बताएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले एउटा आयोजनाको ८० प्रतिशत काम पूरा गरेको व्यवसायीलाई मात्रै अर्को आयोजनाको जिम्मा दिनुपर्ने बताए । अध्यक्ष सिंहले विलो सिस्टमलाई हटाएर क्षमताको आधारमा काम दिइनुपर्नेमा जोड दिए । उनले क्षमताको आधारमा तीन करोड रुपैयाँसम्मको ठेक्का साना व्यवसायीलाई दिनुपर्ने बताए । क्षमताको आधारमा ब्यवसायीलाई योजना दिइए गुणस्तर समेत कायम हुने उनले दावी गरेका छन् ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान हुँने भन्दै पुँजीगत खर्चको माध्यमबाटै राज्यको स्रोत नागरिकसम्म पुग्ने भएपनि त्यो सन्तेषजनक नभएको बताए ।
निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि एउटा कम्पनीलाई निश्चित आयोजनाको जिम्मा दिने र त्यो पूरा भएपछि मात्रै अरु योजनाहरु दिनुपर्ने पक्षमा आफूपनि रहेको बताए । उनले भने, ‘कम्पनीको क्षमताको आधार कति योजना दिने हो टुङ्गो गर्नुप¥यो, ती योजना पूरा भएपछि मात्रै नयाँ योजना दिइनुपर्छ’ । उपाध्यक्ष आङदोजी लामा, महासचिव रोशन दाहाल लगायत पदाधिकारीहरुले समेत एकै जनाले सयौ योजनाको जिम्मा लिने र अलपत्र पारेर छाड्ने प्रवृतिको अन्त्यको लागि नयाँ नियम आवश्यक रहेको औंल्याए । निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा सन्तोष कुमार कटुवाल निर्वाचित भएका छन्। निर्माण व्यवसायी संघ इलामको ९औं जिल्ला अधिबेशनबाट उनी निर्वाचित भएका हुन् । निकटतमा प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दै कटुवाल निर्वाचित बनेका हुन् । कटुवालले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा निरोज राउत, सचिवमा वीरेन्द्र कार्की, सह सचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्विरोध चयन भएका छन् ।
निर्वाचित पश्चात कटुवालले व्यवसायीका समस्या यसभन्दा अघिका अध्यक्षहरुले आत्मासाथ गरेको कुरालाई आफू पनि अघि बढाउने बताए । उनले विभिन्न समस्याका कारण निर्माण व्यवसायी अफ्ठेरोमा रहेको बताए । उनले यस्ता समस्यालाई समाधान गर्न लागिपर्ने समेत प्रतिबद्घता जनाएका छन ।