सिन्धुपाल्चोक। भोटेकोसी गाउँपालिका–१ लिस्तीस्थित चार सय वर्ष पुरानो ज्याङ्तेर लिस्ती पावो गुम्बाको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बू शेर्पा, कार्यान्वयन इकाइका निर्देशक प्रमुख कोषनाथ अधिकारी र नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले बिहीबार संयुक्तरुपमा गुम्बा शिलान्यास गरेका हुन्।
गुम्बा पुनःनिर्माणका लागि भारतीय सरकारले ९ करोड ८३ लाख अनुदान उपलब्ध गराएको छ। भारत सरकारको पुनर्निर्माण अनुदान परियोजनाअन्तर्गत प्राप्त सहयोगबाट गुम्बा निर्माण सुरु गरिएको छ ।
स्थानीय सहयोगमा बनाएको गुम्बालाई भूकम्पले ध्वस्त बनाएका कारण पुनर्निर्माण हुन सकेको थिएन ।
गुम्बाको निर्माण कार्य २०८२ साल फागुनमा पूरा गर्ने लक्ष्य राखिएको छ । भारतले भूकम्पपछि सम्पदा पुनर्निर्माणको शीर्षकका लागि ५० मिलियन अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो । सोही अनुदानअन्तर्गत उक्त गुम्बा निर्माणका लागि रकम उपलब्ध गराइएको हो । शिलान्यासमा दूतावासका द्वितीय सचिव सोनाले भारत र नेपालको कतिपय धार्मिक र सांस्कृतिक समानता रहेको भन्दै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भारतले नेपाल सरकारको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।