काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा मुलुकबाट २ अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । चालु आर्थिक वर्षको साउन–फागुनसम्म कुल २२ लाख ९६ हजार ९७३ टन सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
साउनदेखि फागुनमा १ अर्ब १८ करोड ८७ लाख २८ हजार रुपैयाँ बराबरको ३ लाख ९२ हजार ७ सय ४५ टन क्लिंकर (सिमेन्टको कच्चा पदार्थ) निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार १ अर्ब २८ करोड ३० लाख १४ हजार रुपैयाँ बराबरको १९ लाख ४ हजार २२८ टन तयारी सिमेन्ट निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ११ करोड १४ लाख २६ हजार रुपैयाँ बराबरको सिमेन्ट र १९ करोड ४१ लाख रुपैयाँको क्लिंकर निर्यात भएको थियो ।
सरकारले निर्यात बढाउन करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । सरकारले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ अनुसार अनुदान दिने बताए पनि हालसम्म कुनै पनि उद्योगले पाएका छैनन् ।
नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भएको विभागको तथ्यांक छ । नेपालले यसअघि पनि ०६९र७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन । पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट निर्यात हुन थालेको हो । इकान्तिपुरबाट