काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका हुन्।
उनले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरुलाई समेट्ने गरी रणनीतिक योजना बनाउनु पर्ने बताए। प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरुलाई दिने भनेको सेवा सुविधा पाउनु पर्ने व्यवसयीहरुले नपाएको गुनासो समेत गरे।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, ‘नेपालको एउटा छुट्टै खालको पर्यटनको अवस्था छ । नेपालको पनि आफ्नै युनिक खालको रिभाइबल पोलिसि हुनुपर्छ । त्यसमा प्रत्येकलाई समेटिएको हुनुपर्छ । जो रियलमा पीडित छन्, तिनीहरुले सुविधा पाउन नसकेको अवस्था छ ।'
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने भएको बताए। उनले पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने बताए।