तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर अध्ययन गरेको हो ।
अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नेतर्फ अगाडि बढ्ने पालिकाले जनाएको छ। एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्याफ्टिङको अध्ययन गरिएको हो । प्रशिक्षक थापाले मर्स्याङ्दी नदी र्याफ्टिङका लागि उपयुक्त रहेको अध्ययनका क्रममा पाइएको जनाएका छन् ।
गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको समेत तयारी गरेको छ । वडा नं १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट तथा पर्या–पर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको बताइएको छ।