सुर्खेत । हुम्लाबाहेक कर्णाली प्रदेशका ९ जिल्लामा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन जडान गरेको छ । तर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा अवरोधै अवरोध हुँदा विद्युत् सुविधाभन्दा बढी सास्ती भोग्दै आएका छन् ।
०४५ सालमा राजा वीरेन्द्र सुर्खेत आउँदा सुर्खेतसम्म जोडिएको ३३ केभीएकै लाइन दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, रुकुम, सल्यान, मुगु र डोल्पासम्म जोडिएको छ । तर कर्णालीवासी सुर्खेतमा ३५ वर्षदेखि ३३ केभीए क्षमताकै बिजुलीको भरमा छन् ।
१३२ केभी प्रसारण लाइन विस्तारका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जले रूख कटानबापत जग्गा नै दिनुपर्ने भनेपछि कर्णालीमा विद्युत् विस्तारको काममा लामो समयदेखि ढिलाइ भएको हो । अहिलेसम्म झन्डै ६३ बिघा जग्गा खरिद गरी निकुञ्जलाई दिए पनि रूख कटानका लागि निकुञ्ज विभागसँग सम्झौता हुन बाँकी हुँदा काममा ढिलाइ भइरहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको प्रमुख रविकुमार चौधरीले बताए ।
दुई वर्षभित्र निर्माण सक्ने गरी ०७६ असार २२ मा भारतीय कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले निर्माणको जिम्मा लिएको थियो । आयोजनाको लागत झन्डै एक अर्ब रुपैयाँ छ भने झन्डै ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनामा बाँकेको बानियाभार क्षेत्रमा पनि विवाद कायमै छ । बानियाभारका स्थानीयले क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि निर्माणको काममा अवरोध गरिरहेका छन्। सुरुमा डिजाइन, परीक्षण, विस्तृत वातावरणीय प्रभाव मूल्यांकनलगायत काममा ढिलाइ भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले कर्णालीका झन्डै १ लाख २५ हजार घरमा राष्ट्रिय प्रसारण लाइन जडान गरेको छ । तर केन्द्रीय प्रसारण लाइन पनि भरपर्दो नहुँदा लो भोल्टेज र अनियमित लोडसेडिङको समस्या उस्तै छ । इकान्तिपुरबाट