काठमाडौं। काठमाडौंमा घर बनाउँदा २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम बनाइएको छ। काठमाडौं महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम बनाएको हो।
महानगरले ‘भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहिता’ लागु गर्दै नक्सा पासमा पार्किङलगायतका नियमहरू बनाएको हो।
तर, पुरातात्विक महत्वका संरक्षित स्मारक उपक्षेत्रमा भने यो नियम लागु नहुने भवनसंहितामा उल्लेख छ। पार्किङका लागि सडकको क्षेत्राधिकारभित्र नपर्ने गरी सेड ब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइनेछ।
साथै महानगरले भवनको नक्सालाई दुई चरणमा स्वीकृत गर्ने भएको छ। सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको निर्माण पहिलो चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरले निर्णय गरेको हो।