सङ्खुवासभा। उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ र रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन गरेका छन्। आइतबार मन्त्रीद्वयले किमाथाङ्का नाका र राजमार्गको अवलोकन गरेका हुन्।
उपप्रधानमन्त्री महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताए। उनले उक्त आयोजनाका लागि बजेट अभाव नभएको समेत जानकारी दिए। रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५/६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।