उदयपुर। उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ। कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुँदै गएपछि यहाँ आन्तरिक पर्यटकको चाप बढ्न थालेको हो।
मङ्सिरको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयले पनि बताएका छन्। अहिले दैनिक सयौंको सङ्ख्यामा पर्यटक ताप्ली पोखरी र पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न आउने गरेका ताप्ली–५ का स्थानीइको भनाइ छ।
रौता पोखरी क्षेत्रपछिको दोस्रो महत्वपूर्ण धार्मिक पोखरी क्षेत्र तथा रमणीय पर्यटकीयस्थलको रुपमा रहेको ताप्ली पोखरीमा हिजोआज पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न र रमणीयस्थल हेर्न तथा बनभोज खान आन्तरिक पर्यटक आउने गरेका हुन्।
ताप्ली पोखरीको ऐतिहासिक तथा धार्मिक महत्व छ। ताप्ली क्षेत्रको पोखरी क्षेत्रमा धेरै वर्ष अघि जङ्गल थियो। पहिला त्यहाँ सानो पोखरी थियो। पञ्चकन्यादेवीको मन्दिर पनि पोखरीको भित्तामा छ। ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाका अनुसार उक्त क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ। पोखरीको लम्बाइ ३०० मिटर तथा चौडाई सत्तरी मिटर छ।
ताप्ली पञ्चकन्यादेवीको भाकल गरेर पूजाआराधाना गरे चिताएको पुग्ने जनविश्वास छ।