काठमाडौं। स्याङ्जाको सदरमुकामस्थित पुतलीबजार नगरपालिकाअन्तर्गत प्रगतीनगर–बहाकोट, नाम्चे–काल्खु कच्ची मोटरबाटो ट्रयाक खुलेको झण्डै दुई दशकपछि कालोपत्रे गरिने भएको छ । विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कच्ची सडक पक्की एवं फराकिलो बनाउन लागिएको हो।
सडकको डीपीआरलगायत योजना छनोट गर्दा लामो समय लागे पनि योजना अब अगाडि बढ्ने निश्चित भएको नगरपालिकाले जनाएको छ। सडक निर्माण भएपछि पुतलीबजार र तनहुँको दुलेगौडासँग जोडिने छ।
प्रगतीनगर शिक्षा चोकदेखि काँफलडाँडा–भन्ज्याङ्, बहाकोट–नाम्चे–काल्खुसम्म ७ दशमलव ६ किलोमिटर लम्बाइमा पक्की सडकसहित नाली र टेवा पर्खाल रहने नगरपालिकाले जनाएको छ। विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको १५ महिनाभित्र सम्पन्न हुनेछ ।