काठमाडौं। ट्रयाक खनिएको ६० वर्षपछि झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रवि जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ। इलाम र पाँचथरको पश्चिमी क्षेत्रका वासिन्दालाई तराइसँग जोड्ने सडक तीन खण्डमा कालोपत्रे सुरु भएको हो।
दमकदेखी दक्षिणी र इलाम पाँचथर जोडिएको फाल्गुनन्द मार्गको स्तरोन्नती र कालोपत्रे गर्ने काम सुरु भएको हो। सडक डिभिजन कार्यालय दमकमार्फत् हुँदै आएको काम पहिलो चरणमा ६.२९ किलोमिटर कालोपत्रे हुदैँ आएको छ।
सडकको पहिलो खण्ड २२ करोड ५९ लाख लागतमा कालोपत्रेको काम भइरहेको छ। महालक्ष्मी र किराँतेश्वर जेभिसँग २०७५ असार २९ मा सम्झौता भएको उक्त खण्ड आगामी चैतसम्ममा पुर्णरुपमा कालोपत्रे हुने भएपछि स्थानीय उत्साहित भएका छन्।
दोस्रो खण्डमा ५४ करोड भन्दा माथीको लागतमा लुम्बीनी र गणपति जेभीसँग निर्माणको सम्झौता भएको छ। तेस्रो खण्डमा ५९ करोड भन्दा माथीको लागतमा कालोपत्रे हुने सडक डिभिजन दमकले बताएको छ।
इलामको माङ्सेबुङदेखी चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे गर्ने काम हुँदै आएको छ।