काठमाडौं। विस्फोटक पदार्थ उपलब्धता एवं प्रयोगलाई सहज बनाउन समिति गठन गरिएको छ। बिहीबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहने गरी समिति गठन गरिएको हो।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले विस्फोटक पदार्थ उपलब्धता र प्रयोग थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै समिति गठन प्रस्ताव गरेका हुन् । बैठकले यो प्रस्ताव अनुमोदन गरेको हो।
समितिले यसबारे अध्ययन गरी ३० दिनभित्र समाधान गर्ने गरी उपाध्यक्ष श्रेष्ठले आफ्नो प्रतिवेदनमा समाधान प्रस्ताव प्रस्तुत गरेका छन् ।