बाजुरा। सेती लोकमार्ग द्रुत गतिमा निर्माण गर्न माग गरिएको छ। बाजुरा जिल्ला सभाले प्रदेश र संघ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो ।
धनगढीको टीकापुर बर्दगोरियाबाट डडेल्धुरा, डोटी, अछाम, बझाङ हुँदै बाजुरा जोड्ने लोकमार्ग निर्माणले गति नलिएपछि ३ जिल्लाको समन्वयमा सरकारसँग लोकमार्ग निर्माणलाई ध्यान दिन दबाब दिने जिल्ला समन्वय समिति बाजुराले जनाएको छ।
बिहीबार जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा छैटौँ जिल्ला सभाबाट लोकमार्ग निर्माणमा ढिलासुस्ती भइरहेकाले त्यसलाई अविलम्ब रोकेर निर्माणलाई तीव्रता दिन प्रदेश र संघ सरकारसँग माग गर्ने निर्णय भएको बताइएको छ।