गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा बेलिब्रिज निर्माण गरिएको छ। तान्द्राङ खोलामा २४.४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको हो।
पुल निर्माणका लागि एक वर्षमा काम सक्नुपर्ने गरी जलप होम जेभीसँग गएको मङ्सिर १५ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता भएको चार महिनाभित्रै निर्माणको काम पूरा भएको हो।
पुल निर्माणको लागत तीन करोड ८९ लाख ८३ हजार रहेको छ। पुलको वारिपारि दुवैतर्फ ५०.५० मिटरको पहुँच मार्ग निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो ।