काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन्।
काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनु पर्ने बताएकी हुन्।
उनले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितीमा पुगेको बताइन्। मन्त्री भुसालले जनतामा २ वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन्। उनले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताइन्।
मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाहरुले समयमै विद्युत भुक्तानी नगरेको, विनियमावलीले तोकेको भन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरुको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको समेत बताइन्।