म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो ।
विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनी शर्मा–युनाइटेडले बेगखोला, महभिर, बैसरी, रातोपानी, पोखरेबगर र तातोपानी बजार क्षेत्रमा दोस्रो चरणको कालोपत्रको काम सकिएको बताएको छ। “तिप्ल्याङ–बेगखोला खण्डमा थप दुई किलोमिटर सडक पनि यही चैतभित्रमा कालोपत्र गर्न तयारी गरिएको बताइएको छ।
सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली, पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो ।