बागलुङ। पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो स्तरोन्नतिको ठेक्का प्रक्रिया सकिएको छ। ढोरपाटनको केन्द्र बुर्तिबाङ बजारदेखि करिब ७ किलोमिटर दक्षिण पश्चिममा पर्ने अर्नाकोटसम्म पुग्ने सडक निर्माणका लागि भगवती मालिका कन्स्ट्रक्सन म्याग्दीले जिम्मा पाएको हो।
गण्डकी प्रदेश सरकारले पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्षपछि सडक स्तरोन्नति गर्न लागेको हो।
यस वर्ष करिब ५ किमी सडक स्तरोन्नति हुने बताइएको छ। सडकको सलामकोट–मस्ती–अर्नाकोट क्षेत्रमा ग्राभेलिङ, सडक चौडा गर्ने र नाली निर्माण गरिने छ। ८६ लाख रुपैयाँ बजेट लागत अनुमान गरिए पनि निर्माण कम्पनीले ६३ लाख २८ हजारमा ठेक्का सम्झौता गरेको छ।