काठमाडौं। ३४०.४२३ मेगावाटको बूढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) बारे सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। मंगलबार विद्युत् नियमन आयोगले विद्युत् विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेस गरेको निवेदनउपर आयोगले सरोकारवाला पक्षलाई बोलाएर सार्वजनिक सुनुवाई गरेको हो ।
गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ ।
आयोजनाको बाँधस्थल र जलाशय चुमनब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलाशय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।
कार्यक्रममा विभागका अध्यक्ष डिल्लीबहादुर सिंहले नेपालमा विद्युत् क्षेत्रको नियमनमा आयोग स्थापना भएपछि निजी लगानीकर्ताहरुले निकै सहजता महसुस गरेको बताए ।