चितवन। जङ्गल सफारीका लागि परिचित चितवनमा जल पर्यटनलाई पनि प्रवद्र्धन गर्न सुरु गरिएको छ। ठिमुरा रिसोर्टले त्रिशूली र नारायणी नदीमा प्याकेज निर्माण गरी र्याफ्टिङ सुरु गरेको हो।
देशको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चिनिने चितवनमा आउने अधिकांश पर्यटकको रोजाइँ चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी पर्ने गर्दछन्। यसैगरी धार्मिक पर्यटक मनकामना, मौलाकालिका, देवघाट क्षेत्रमा आउने र त्यहाँको दृश्यावलोकन गर्ने गर्दछन्। नारायणी, राप्ती र त्रिशूली नदी यसै जिल्ला हुँदै बग्ने भए पनि जलसँग जोडेर पर्यटकीय गतिविधि कमै हुने गरेका थिए।
यसैगरी पछिल्लो समय नारायणी नदी किनारमा मोटरबोट सञ्चालनमा आएका छ भने भरतपुर महानगरपालिका–१ ठिमुरामा त्रिशूली नदीको किनारमा रहेको ठिमुरा रिसोर्टले र्याफ्टिङ सञ्चालनको अनुमति लिएको समूहसँग सहकार्य गरेर र्याफ्टिङ प्याकेज सुरु गरेको हो। रिसोर्टबाट देवघाट, नारायणगढ,गाँजीपुरसम्म र घुमाउनेदेखि रिसोर्ट हुँदै गाँजीपुरसम्मका लागि प्याकेज बनाइएको रिसोर्ट सञ्चालकले जानकारी दिएका छन्।
त्यहाँ जाने पर्यटकका लागि बस्न र खानका लागि रिसोर्टमा व्यवस्था हुने उनले जानकारी दिएका छन्। जल पर्यटनको हिसाबले आकर्षक र र्याफ्टिङ पारखीको रोजाइँ रहेको त्रिशुली क्षेत्रमा अब नियमित गतिविधि गर्न लागिएको उनले जानकारी दिएका छन्। र्याफ्टिङ सञ्चालन पश्चात नारायणी र त्रिशूली धेरै पर्यटकको रोजाइँमा पर्ने गरेको उनको भनाइ छ। यसैगरी भरतपुर महानगरपालिकाका पर्यटन विज्ञले सो क्षेत्रमा जल पर्यटनको सम्भावना धेरै राम्रो रहेको मानिएको बताउँदै नेपालको भोटेकोशीपछि त्रिशूली र नारायणीको जलाधार र्याफ्टिङका लागि उपयुक्त भएकाले यसको प्रवद्र्धन गर्नुपर्ने बताएका छन्।
त्यस्तै पछिल्लो समय पर्यटकको रोजाइँ जल र जङ्गलपर्ने गरेको भएको कारणले गर्दा जल पर्यटनलाई अगाडी बढाएको जनाइएको छ। हाल पर्यटन विभागसँग सहकार्य गरेर नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम भइरहेको छ।