काठमाण्डौं। काठमाण्डौं महानगरपलिकामा अवस्थित रहेको चःमति जग्गा एकीकरणको आयोजना क्षेत्रभित्र बृद्ध विश्राम भवनसँगै पार्क निर्माण गरी गत बुधबार यसको उद्घाटन पनि गरीएको छ। १ करोड ५० लाखको लगानीमा स्थानीयबासीले योगदान गरेको १ रोपनि १४ आना जग्गामा पार्कसँगै २ तले भवन निर्माण गरीएको हो।
पार्क निर्माण गर्नुको उद्देश्य विपतको समयमा आश्रय स्थल बनाउन र सामान्य मनोरञ्जनको लागी रहेको छ। बृद्ध विश्रामसँगै बनाएको पार्कमा जेष्ठ नागरीकलाई लक्षित गरी विभिन्न देविदेवताको मुर्ति पनि राखिएको छ। त्यस्तै पार्कमा ४ वटा ढुङगेधारा सहित चैत्य पनि राखिएको छ। स्थानीयको ३० लाख सहयोग र महानगर तथा संसद् कोषको १ करोड २० लाखमा विश्राम भवन सहित पार्क पनि निर्माण गरीएको हो।
आयोजनाको काम नसकिदा त्यहाँका स्थानीयहरुले २० वर्षदेखि दुःख पाएका थिए। स्थानीयले योगदान गरेको जग्गामा पार्क निर्माण हुनु सवल पक्ष रहेको र सबैको संयुक्त प्रयासमा देखाउन मिल्ने खालको योजना सम्पन्न गरेको कुरा संघिय संसद्ले जनाएको छ।