तनहुँ। तनहुँको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई करिब सात करोड भुक्तानी गर्न बाँकी छ ।
सदरमुकाम दमौलीस्थित तीन वडामा खानेपानी वितरण गर्दै आएको संस्थाले नगर विकास कोषलाई ६ करोड ९८ लाख ६८ हजार तीन सय भुक्तान गर्न बाँकी रहेको हो।
२०७० साल असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६ ऋण उपलब्ध गराएको थियो ।
खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६, उपभोक्ता संस्थाको १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६ लगानी गरिएको थियो । त्यसमध्ये पनि १२ करोड दुई लाख ७७ हजार एक सय ७४ संस्थाले र ६४ लाख ५५ हजार एक सय २२ जनताबाट उठाएको थियो ।
दमौली खानेपानी संस्थाले व्यास नगरपालिका–२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार छ सय ५० निजी धारा र एक सय २२ कार्यालय तथा सङ्घसंस्थाका गरी तीन हजार सात सय ७२ धारा जडान गरिएको संस्थाले जनाएको छ।