बैतडी। साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका स्टिलबार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ ।
सडक चौडा पार्ने नाममा बैतडीको खोड्पे–बझाङ सडकखण्डको सडकबार मात्रै नभई, यसअघि २०६६ सालमा गरिएको कालोपत्रेसमेत भत्काइएको छ। पाँच वर्षअघि विश्व बैङ्कको सहयोगमा सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य लोकमार्गमा स्टिलबार जडान गरिएको थियो ।
दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैङ्कको सहयोगमा २०७४ सालमा बैतडीको दशरथचन्द लोकमार्ग, बझाङको जयपृथ्वी लोकमार्ग र दार्चुलाको महाकाली लोकमार्गमा स्टिलबार लगाउने काम भएको थियो । खोड्पेदेखि बझाङ सडकखण्डको १०६ किमिमध्ये दुर्घटना बढी हुने ११.४५ किलोमिटर, बैतडीको सतबाँझ झुलाघाट सडकखण्डको ३७ किलोमिटरमध्ये ४.७९ र बैतडीको सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डको १२६ किलोमिटरमध्ये १०.३३ किलोमिटर क्षेत्रमा स्टिलबार लगाइएको थियो। यी सडकखण्डको चौडाइ बढाउने र मोड सुधार्ने काम हाल आठ करोडको ठेक्का सम्झौता भई काम चलिरहेको भए पनि आयोजना स्थलमा होर्डिङबोर्ड नराखी जथाभाबी काम भइरहेको नागरिकले गुनासो गरेका छन्। गोरखापत्र अनलाइनबाट