काठमाडौं। सरकारले दैलेखको नारायण नगरपालिकालाई फोहरमैला सङ्कलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ। चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले फोहरमैला प्रशोधन केन्द्र निर्माण गर्नका लागि वनको तीन हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकबाट अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट नौ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको समेत जानकारी दिएकी छन्।
यस्तै मकवानपुरको मनहरी गाउँपालिकालाई मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न राष्ट्रिय वनको शून्य दशमलव दुई हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।