काठमाडौं। भारत सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडान ३१ जनवरीसम्म स्थगित गर्ने भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण थप फैलिन नदिने उद्देश्यले उडानलाई स्थगित गर्ने निर्णय गरेको हो।
भारत सरकारले यो भन्दा अगाडी १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा थियो। भारतको नागरिक उड्डयन महानिर्देशनालयले सूचना जारी गर्दै अब यी उडानहरु ३१ जनवरीसम्म स्थगित भएको जानकारी दिएको हो।
यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो उडानमा भने लागू हुने छैन। भारतको नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई विशेष परिस्थितिमा मात्र अनुमति दिन सकिने बताएको छ।
भारतले ३० भन्दा धेरै देशहरुसँग एयर बबल सम्झौता गरेको छ, सोही सम्झौता अनुसारका उडान पनि जारी रहने महानिर्देशनालयले जानकारी दिएको छ।