भैरहवा। कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र हाल पहिलेकै अवस्थामा फर्किन थालेको छ। कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी निराश थिए भने कतिपयले व्यवसाय नै छोडेर पलायन भएका थिए।
कोरोना महामारीको कमिसँगै हाल लुम्बिनीमा बिस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशा जगाएको लुम्बिनी होटल सङ्घले जनाएको छ। अहिले सो क्षेत्रमा व्यवसायीलाई मात्र नभएर घुम्न आउने पर्यटकलाई पनि उत्साही बनाएको जनाइएको छ।
अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने लुम्बिनी होटल सङ्घका सचिवको भनाइ रहेको छ। लुम्बिनी भ्रमणका लागि आउन थालेका पर्यटकका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम सरकारले ल्याउनु जरुरी रहेको र सो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण नभएमा पर्यटन व्यवसायले खासै फाइदा उठाउन नसक्ने उनले जनाएका छन्।
कोभिड–१९ को सङ्क्रमण दर कम हुँदै गएपछि लुम्बिनीमा पर्यटकको भीड लाग्न थालेको छ। तेस्रो मुलुकबाट भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएका बेला अहिले भारतबाट आउने पर्यटक पनि बढेका छन्। यसले गर्दा देशको पर्यटन विकास र आर्थिक क्षेत्रको विकासमा पनि टेवा पुग्ने देखिएको छ। त्यसैले लुम्बिनी क्षेत्रमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण अत्यन्तै जरुरी रहेको छ।
यसैगरी लुम्बिनी परिसरमा हाल शैक्षिक भ्रमणमा आउनेको सङ्ख्या बढेको लुम्बिनी विकास कोषका सदस्यसचिवले जानकारि दिएका छन्। यसैगरी पर्यटकको लागि सबै क्षेत्र खुला भएसँगै दैनिक तीनदेखि चार हजार पर्यटक लुम्बिनी आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ।