स्याङ्जा। स्याङ्जा जिल्लाका दुई स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ। नेपाली सेनाले स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिकामा दुईवटा हेलिप्याड निर्माण गरेको हो।
दुवै पालिका दुर्गम भएकाले पालिकाको आर्थिक सहयोग र नेपाली सेनाको श्रमदानबाट हेलिप्याड निर्माण गरिएको बताइएको छ। केही समय अगाडि अर्जुनचौपारीमा निर्माण सम्पन्नपछि पालिकालाई हस्तान्तरण गरिएको छ भने हरिनासमा हालै हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।
दुवै पालिकामा ६० फिटको लम्बाइ र चौडाइ भएका हेलिप्याड निर्माण गरिएको छ। अर्जुनचौपारीको कमले बजारमा र हरिनास गाउँपालिकाको ४ नम्बर वाडको चुलीडाँडामा निर्माण गरिएको हो।