काठमाडौं। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डको काम हालसम्म ५५ प्रतिशत पूरा भएको छ। एकतर्फी २८ किमी र दुईतर्फी करिब १५ किमी कालोपत्र भइसकेको सडकको ५५ प्रतिशत काम पूरा भएको हो।
हाल कालोपत्र कार्यलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको छ । अहिले वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक विस्तारको कार्य भइरहेको छ ।
दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ । पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो।