काठमाण्डौं। विश्व सम्पदा सुचीमा सुचिकृत रहेको हनुमानढोका दरबारको अगाडी रहेको माजु देवलको मन्दिर भुकम्पले क्षति पुर्याएको ६ वर्ष वितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन। काठमाण्डौं महानगरले निर्माण गर्दै गरेको सो मन्दिरको निर्माण म्याद सकिदा पनि आधा काम पनि भएको छैन। म्याद सकिएको एक वर्ष भइसक्दा पनि म्याद अहिले सम्म थप नहुदा मन्दिरको निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ।
मन्दिर निर्माणको लागि सबैभन्दा बढी काठको आवश्यक पर्ने हुँदा कोभिडको कारणले सामान ढुवानी गर्न नसकेको कारणले गर्दा निर्माण कम्पनीले मन्दिरको पुनःनिर्माणको काम समयमा सम्पन्न गर्न नसकेको हो। निर्माण अवधि सकिएकोले एक वर्षदेखि निर्माण कार्य रोकिएकोले निर्माण कम्पनीले म्याद थपको लागि आवश्यक प्रक्रिया सुरु गरेको छ केहि दिनमा नै म्याद थप हुने र निर्माण कार्य अगाडि बढ्ने कुरा ठेकेदार कम्पनीले जनाएको छ।
५ करोड ८८ लाख लागतमा ३ वर्ष अगाडी दुई वर्षभित्र निर्माण कार्य पुरा गर्ने सर्तमा मन्दिरको पुनःनिर्माण थालिएको थियो। तर कोभिडको कारण निर्माण कार्य समयमा सम्पन्न हुन सकेन। पुरातत्व विभागको अनुसार माजु देगःको मन्दिरको निर्माण विसं.१७४७ मा भएको थियो।