काठमाडौं। नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ। सोमबार सुरुङभित्रै विषेश कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विशेष पूजापाठसहित छिचोल्न बाँकी २ मिटर क्षेत्रमा ब्लाष्ट गरेर ब्रेक थ्रु गरिएको हो।
सुरुङभित्र लाइनिङ गर्ने, उपकरण जडान र फिनिसिङका कामहरू बाँकी रहेकाले ती काम सकेर यातायात चलाउन अझै एक वर्ष लाग्ने बताइएको छ।
जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) को ऋण सहयोगमा उक्त सुरुङमार्ग निर्माण भएको हो। जापानको हाजमा एण्डो कर्पोरेशनले निर्माण सुरु गरेको ५३ महिनामा सुरुङ खनेर छिचोलिएको हो। कुल २ हजार ६ सय ८८ मिटर रहेको मुख्य सुरुङको निर्माण २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।
सुरुङभित्रको सडक ३० सेन्टिमिटर बाक्लो ढलान गरी निर्माण गरिने छ । त्यस्तै सडकको दायाँ बाँया ढल निर्माण गरिने छ । सुरुङको चौडाइ ७ मिटरको रहेको छ ।
सुरुङको दुवैतर्फको मुखमा सुरुङमार्ग प्रयोग गरेबापटको शुल्क उठाउन शुल्क द्वार ९टोल गेट० राखिने छ । त्यहाँ २४ सै घण्टा सुरक्षाकर्मी, प्रामिक चिकित्सकको टोली, एम्बुलेन्स, सुरुङमार्गसम्बन्धी प्राविधिक कर्मचारीलगायतको उपस्थिति रहेन छ ।
यसअघि २०८० साउन २१ मा आयोजनाको आकस्मिक (रेस्क्यु) सुरुङमार्गको ब्रेक थ्रु भएको थियो।