धनगढी। सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गरिने भएको छ। सुदूरपश्चिम सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि अगामी पुष पहिलो साता साइकल यात्रा गर्ने भएको हो।
‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा साइकल यात्रा हुने भएको हो।
पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले धनगढीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल यात्रा हुने बारेमा जानकारी दिएको छ। पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भोजराज पाठकले पुष ३ गतेदेखि ५ गते सम्म साइकल यात्राको आयोजना गरिएको जानकारी दिए।
पाठकले साइकल यात्रामा सुदूरपश्चिमसहित संघीय राजधानी काठमाडौँ लगायतका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत गरेर कम्तीमा पनि डेढ सय जनाको सहभागिता रहने जानकारी दिए।