काठमाडौं। जुम्लाको तिला गाउँपालिका भौगोलिक हिसाबले जिल्लाकै विकट पालिका हो। २०७४ पछि स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन्। तर हालसम्म पनि तिलानदी माथि तिलाका ७, ८ र ९ का ग्रामीण बस्तीलाई राजमार्गसँंग जोड्ने पुल निर्माण नभएकै कारण त्यहाँका नागरिक भारी बोक्न अहिले पनि खच्चड र पिठ्युँकै भरमा छन्। सो गाउँमा सडक पुगेको भएपनि पुल नहुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री ओसार्न खच्चड र पिठ्युँकै भर पर्नुपर्ने बाँध्यता रहेको छ। सो क्षेत्रमा पुल निर्माण भएमा सडक पुग्दा भन्दा बढी खुसी हुने तिलाका स्थानीयले जनाएका छन्।
हाल तिलाका दुर्गम गाउँलाई राष्ट्रिय सडक संजालसँंग जोड्नका लागि तिला गाउँपालिका–१ रारालिहीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ। रारालिहीमा तीन वर्षभित्र पक्की पुल निर्माण हुने गरी प्रक्रिया अघि बढाएको सडक डिभिजन जुम्लाका प्रमुखले जानकारी दिएका छन्। सो स्थानमा पुल निर्माणको लागि डिजाइन नक्सासमेत आएर स्टिल क्रसको कामअघि बढेको जनाइएको छ। चिसो बढ्दै गएकाले सिमेन्टको काम गर्न सम्भव नहुने भएकाले निर्माण व्यवसायीलाई चिसोमा सिमेन्टको काम गर्न सकिने केमिकल खरिद गर्न लगाएको र सो केमिकल परीक्षण सफल भएमा यही हिउँदमा पुलका सबै पिल्लर खडा गरिने उनले जानकारी दिएका छन्।
करिब ५५ मिटर लामो पुल निर्माणका लागि १५ करोड ४१ लाखको स्टिमेट गरिएका भएपनि ठेक्का सम्झौता भने १४ करोड ८४ लाखमा भएको सडक डिभिजन जुम्लाका इन्जिनियरले जनाएका छन्। उक्त पुल निर्माणमा हिराचन, अन्जना खड्का जेभी निर्माण कम्पनीसँंग तीन वर्षे ठेक्का सम्झौता भएको जनाइएको छ। यसैगरी पुल निर्माणले तिलाका दुर्गम बस्तीलाई आर्थिक आयआर्जनसँंग जोडिने अपेक्षा गरिएको तिला गाउँपालिकाकी उपाध्यक्षले बताएकी छिन्। गाउँ गाउँमा सडक पुर्याए पनि स्थानीय तहको लगानीले पुल निर्माण सम्भव नभएकाले गर्दा संघीय सरकारको लगानीमा सडक डिभिजनले पुल निर्माण गर्न लागेकोमा उनले खुसी व्यक्त गरेकी छिन्।