काठमाडौं। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणको काम शुरु भएको छ। आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी काम शुरु गरेको हो।
आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताए।
तेस्रो चरणमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य पर्दछन्। सिभिल संरचनाअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत्गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टलगायतका कार्यहरु पर्दछन्।
आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँमध्ये हालसम्म १४ अर्ब सात करोड ५९ लाख रकम खर्च भइसकेको छ। आयोजनाले कात्तिक महिनासम्म वित्तीय प्रगति ३८.२४ तथा भौतिक प्रगति ४९ प्रतिशत हासिल भएको जनाएको छ ।