कैलाली। कैलारी गाउँपालिका–३ को विकट गाउँ हौसलपुर जोड्नका लागि मोहना नदीमा झोलुंगे पुल निर्माणको काम शुरु भएको छ। पुल निर्माणका लागि निर्माण कम्पनीले माटो परीक्षणलगायत प्रारम्भीक काम अगाडि बढाएको हो।
पुल निर्माण हुने भएपछि नदी पारी पर्ने मोहनपुरका बासिन्दा शिक्षा, स्वास्थ्योपचार, किनमेललगायत सबैजसो जीवन व्यवहारमा सीमावर्ती भारतीय बस्तीसँगको निर्भरता हट्ने भएको छ।
पुल र बाटोको समस्याले नदीवारिका नेपाली बस्तीमा आउन नसक्ने भएपछि त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्दै आएका छन्। नेपालतर्फ आउँदा नदी तर्न डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता छ। बर्खामा नदीमा पानीको सतह बढ्दा डुंगासमेत चल्दैन। पुल निर्माण हुने भएपछि यहाँका मानिसमा हर्ष छाएको छ।
पुल निर्माणका लागि नेपाल सरकार र मष्टबाविरो निर्माण सेवाबीच सम्झौता भएको छ। निर्माण कम्पनीका तर्फबाट एलपी इन्जिनियरिङ प्रालिले काम थालेको छ। झोलुंगे पुलको लम्बाइ १६५ मिटर र चौडाइ डेढ मिटर रहने छ। केही दिनमै भौतिक निर्माणको काम शुरु गरिने कम्पनीले जनाएको छ।