काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र काठमाडौँ विश्वविद्यालय (केयू) बीच हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न सम्झौता भएको छ।
बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाएको हो।
दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताअनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।
यसअघि केयूले धुलिखेलस्थित आफ्नै परिसरभित्र ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङ स्टेशनको स्थापना गरी सञ्चालनमा समेत ल्याइसकेको छ ।