काठमाडौं। काठमाडौँ–तराई–मधेश द्रुतमार्गको हालसम्म ३३ प्रतिशत भौतिक र वितीय प्रगति भएको छ। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको करिव ७१ किलोमिटर दुरीको काठमाडौं–तराई–मधेश द्रूतमार्गको काम हालसम्म ३३ प्रतिशत सम्पन्न भएको जानकारी गराइएको हो।
निर्माणलाई १३ समूहमा विभिजन गरी आयोजना अघि बढाइएकामा प्रस्थान विन्दुक्षेत्र खोकनाबाहेक अरु क्षेत्रको काम भकाभक अघि बढिरहेको बताइएको छ । त्यस मार्गमा बनाइनुपर्ने ६ वटा सुरुङमध्ये ३ वटाको निर्माण समग्रमा ७६ प्रतिशत प्रगति हाँसिल भएको छ ।
आयोजनाका लागि हालसम्म ३० हजार ५९१ रुख कटान गरिएकामा एक रुख बराबर २५ वटाका दरले ५ लाख विरुवा रोपेर हुर्काउने कामसमेत भइरहेको सेनाले जानकारी दिएको छ । केही रुख कटान, केही जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका समस्या भने सुल्झाउन बाँकी नै रहेको बताइएको छ।