काठमाडौं। अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्न थालेको छ। कोरोनाका कारण दुई वर्षदेखि सुनसान रहेको अन्नपुर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेसँगै पर्यटन व्यवसायीहरुले राहतको महसुस गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले २०२१ को जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा दुई हजार दुई सय २० जना विदेशी पर्यटक अन्नपुर्ण पदमार्ग अन्र्तगत मनाङ घुम्न आएको जानकारी दिए।
एक्यापका अनुसार सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आएका थिए। सन् २०२० मा १ हजार ९ सय ७६ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिए।
कोरोनाका कारण २०२० मार्च १४ देखिदेखि अक्टोबरसम्म पदमार्गमा पर्यटक आएका थिएनन्। मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले दुई वर्षसम्म सुनसान रहेको पदमार्गमा २०२१ मा विदेशी पर्यटक आउँदा कोरोनाले थला परेको पर्यटन व्यवसायमा केही राहत भएको बताए। मनाङको सदरमुकाम चामेसम्म मोटर पुगेपछि अन्नपुर्ण पदमार्ग जाने नेपालीहरूको संख्यामा वृद्धि भएको हो।