काठमाडौं। गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताएका छन्। अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरम (सोफो)को समन्वयमा ‘समृद्धिका लागि दिगो पर्वतीय पर्यटन’ विषयक छलफल कार्यक्रममा उनले पर्वतीय क्षेत्रका विशेषताको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताएका हुन्।
हिमाली भेगको बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु साथै हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृति संरक्षण हुन नसक्नु दुःखद् भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजान आवश्यक रहेको उनको भनाइ छ। यसैगरी कोरोनाले पर्यटनमा चुनौती थपेको हुनाले अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको भूगोलविद्ले जानकारी दिएका छन्। यसैगरी उनले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्। रिक्यापका अध्यक्षले ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण देश नेपालमा योजनाबद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको औँल्याएका छन्।