बागलुङ। स्थानीयले दुई दशक अगाडि आफ्नै अगुवाइमा निर्माण गरेको गलुवा भकुण्डे सडक कालोपत्रे हुने भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेका स्थानीयले २०६० सालमा जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्रे हुने भएको हो । जिल्लाकै पहिलो होमस्टे सञ्चालनमा रहेको भकुण्डेबासीले बागलुङ कुश्मिसेरा सडकलाई छुने गरी गलुवादेखि देउरालीसम्म ६ किलोमिटर सडक खनेका थिए ।
सो सडक बागलुङ नगरपालिका र संघीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाको कार्यालयले जनाएको छ । ६ किलोमिटर सडकमध्ये पहिलो चरणमा तीन किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो । बागलुङ नगरपालिकाको पाँच करोड रुपैयाँ र संघीय सरकारको पाँच करोड गरी १० करोड लागतको सडक ठेक्का सम्झौता गरेर कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको छ ।
अहिले सडक चक्लाउने काम सकिएर नाली निर्माण गर्ने, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम र खन्ने काम चलिरहेको छ । भकुण्डे जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँको होमस्टे, बराह ताल, मूलावारी भ्यु टावर, जनजाति संग्रहालय, हिराताल खेल मैदान तथा यहाँबाट देखिने दर्जनौं हिमश्रृंखला पर्यटकको रोजाइमा पर्दछन् । तर सडक स्तरोन्नति नहुँदा पर्यटक सास्ती खेप्न बाध्य थिए ।
सडक कालोपत्रे हुने भएपछि यतिबेला स्थानीय हर्षित छन् । ‘दुई दशक अगाडि स्थानीयले घरघरबाट रुपैयाँ रुपैयाँ चन्दा संकलन गरेर सडक खनेका हौं,’ स्थानीय नरबहादुर थापाले भने, ‘सडक खनेको २० वर्ष पछाडि नै भए पनि कालोपत्रे हुन लागेको छ, यसमा हामी नकै खुशी छौं ।’ सडकले भकुण्डेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बागलुङ नगरपालिका–१० भकुण्डेका वडाध्यक्ष तिलबहादुर थापाले बताए ।
‘पर्यटकीय सम्भावना भएर पनि जोखिमयुक्त सडकका कारण सोचेअनुरुप पर्यटक भित्र्याउन सकेका थिएनौं,’ अध्यक्ष थापाले भने, ‘अब सडक कालोपत्रे पश्चत पर्यटकीय क्षेत्रमा भकुण्डेले आफ्नो पहिचान स्थापित गर्नेछ ।’ भकुण्डे जिल्ला सदरमुकामसँगै जोडिएको गाउँ भएर पनि सडककै कारण पछि परेको थियो । सडक निर्माणको जिम्मा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीले लिएको छ ।
कम्पनीसँंग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गत जेठमा सात करोड २९ लाखको ठेक्का सम्झौता भएको थियो । पहिलो चरणमा तीन किमि सडक कालोपत्रेका लागि पूर्वाधार निर्माण गरिसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताए । थापाका अनुसार हाल सडक चौडा बनाउने, नाली निर्माण गर्ने, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुग्नु सकारात्मक रहेको उनले बताए । ‘काम तीव्रताका साथ चलिरहेको छ,’ थापाले भने, ‘कामको तीव्रतासँगै गुणस्तरको कुरामा पनि ध्यान दिएका छौं ।’ उक्त सडक कालोपत्रे सकिएलगत्तै थप तीन किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रकृया सुरु गरिने नगरपालिकाले जनाएको छ । कारोबार दैनिकबाट