काठमाडौं। आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौं आइपुग्ने भएका छन्। विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस हालै सुनौली भन्सार ल्याइपुर्याइएको जानकारी गराएको छ।
कोरोना महामारीका कारण उक्त विद्युतीय बस बन्दरगाहमा रोकिएका थिए। १७ वटा बस सुनौली भन्सारमा ल्याइपुर्याएको सुन्दर यातायात प्रालिका अध्यक्षले जानकारी दिएका छन्। हाल भन्सार शुल्क, परीक्षण प्रतिवेदन, यातायात व्यवस्था विभागका पत्रलगायतका भन्सारका काम भइरहेको हुनाले काठमाडौंसम्म बस ल्याइपुर्याउन एक हप्ता जति लाग्ने जनाइएको छ।
४० सिट भएका ती बसहरू काठमाडौंमा सञ्चालन गरिने भएको छ। यसैगरी १७ वटामध्ये चारवटा बस बुटवल भैरहवामा सञ्चालन गरिने प्रालिले जानकारी दिएको छ। सुन्दर यातायातले विगत दुई वर्षदेखि चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा विद्युतीय बसहरू खरिद गरेको जनाइएको छ।